सम्बोधन ‘तिमी’ लाई…

अहिले नेपाली समाज र सामाजिक सन्जाल हेर्‍यौँ भने सभ्यताका पर्खाल भ्वाङभुङ भत्काइएको छ । शिष्टता, मर्यादा केही पनि छैन । पत्रकारले बाउलाई पनि तपाईं भन्दैन । तिमीभन्दा माथि उठ्दैन । यो एउटा ट्रेन्ड हो । किनभने अंग्रेजीको ‘यू’ र अर्काको एउटा ‘यू’ भन्ने शब्द लोभ लागेर बालाई तपाईं भन्न गाह्रो लाग्छ । ‘पैसावाला, डलरवाला, युरोवालाहरू ‘यू’ ले काम चलाउँछन्, किन काम नचल्ने ? सभ्यता त त्यो रहेछ’ भन्ने भ्रम परेको छ । सानालाई तिमी र ठूलालाई तपाईं भन्ने स्वाभाविकै हो । भाषा, समाजको संस्कृतिको एउटा आफ्नो प्रचलन हुन्छ, मर्यादा हुन्छ । तर हामी त्यो बिर्सन खोज्दैछौँ ।

प्रधानमन्त्री केपी ओली, २८ असोज मंगलबार (नेपाल प्रज्ञाप्रतिष्ठान)


प्रधानमन्त्री केपी ओलीलाई मिडियाले कसैलाई ‘उनी’ भनेको फिटिक्कै मन परेको छैन । ‘पत्रकारले बाउलाई पनि तपाईं भन्दैन’, प्रधानमन्त्रीले यसो भनेको पहिलोपल्ट होइन ।

‘नेपालीमा तपाईं भन्ने चलन हुन्छ ! बाउलाई पनि तिमी, आमालाई पनि तिमी, हजुरबालाई पनि तिमी, हजुरआमालाई तिमी ! यो त नेपाली भाषा, नेपाली सभ्यता, नेपाली संस्कृतिभित्र पर्दैन,’ चार महिनाअघि पनि उनले भनेका थिए ।

गत ३ असारमा प्रमुख प्रतिपक्षी कांग्रेसले संसद् अवरुद्ध गरी बोल्न नदिएपछि सिंहदरबारमा गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्रीले सञ्चारमाध्यमले प्रयोग गर्ने भाषाबारेयस्तो टिप्पणी गरेका थिए । त्यतिबेला उनको भनाइ थियो, ‘हाम्रो समाज त एउटा शिष्ट, सभ्य, मर्यादित समाज हो । हाम्रो टेलिभिजनले तपाईं भन्न कसैलाई जान्दैन । तपाईं भन्ने नेपाली भाषाको शब्दै हराइसक्यो ।’

टेलिभिजनबारे यति बोलेर ओलीले समग्र मिडियालाई प्रहार गरे । ‘हाम्रो सञ्चार माध्यमले भाषा संस्कृतिका कुरा गर्छ । नेपाली भाषामा त बाउलाई तपाईं नै भन्ने चलन हुन्छ हउ ! बाउलाई पनि तिमी, आमालाई पनि तिमी, हजुरबालाई पनि तिमी, हजुरआमालाई तिमी ! यो त नेपाली भाषा, नेपाली सभ्यता, नेपाली संस्कृतिभित्र पर्दैन ।’

पछिल्लोपल्ट २८ असोजमा नेपाल प्रज्ञाप्रतिष्ठानमा भएको ‘दोस्रो चीन र दक्षिण एसिया साहित्य सम्मेलन’ मा पनि प्रधानमन्त्रीको चिन्ता मिडियाले भाषा बिगारे भन्नेमा मात्र सीमित थिएन, सामाजिक सन्जालले सभ्यताका पर्खालहरू नराम्ररी भत्काए भन्ने उनको दाबी थियो । मिडियाले सबैलाई ‘तिमी’ भनेर भाषा बिगारे भन्ने उनको चिन्ता त छँदैछ । पश्चिमा (प्रधानमन्त्रीकै भाषामा डलरवाला, युरोवाला) हरूको अभ्यासलाई नै नेपालमा सभ्यता ठानिएको दोस्रोपल्ट प्रधानमन्त्रीले सार्वजनिक कार्यक्रममा सुनाएका थिए ।

‘तपाईं…तिमी…’

पाँच महिने अन्तरमा प्रधानमन्त्रीले दोस्रोपल्ट यसो किन भने ? जवाफ खोज्नुभन्दा पहिला उनको भनाइलाई ‘रिफ्रेज’ गर्नुपर्नेहुन्छ । समाचारमा कसैलाई सीधा ‘तिमी’ भनिँदैन । बरु अप्रत्यक्ष रूपमा उद्धृत गर्दा ‘उनी’ भनिन्छ ।

नेपाली बृहत् शब्दकोषमा ‘उनी’ लाई ‘मध्यम आदरार्थी शब्द’ र ‘तिमी’ लाई ‘तँभन्दा माथिल्लो र तपाईंभन्दा तल्लो श्रेणीको आदरार्थी शब्द’ भनी अर्थ्याइएको छ ।

नेपाली मिडियाले कहिलेदेखि समाचारमा कसैलाई उद्धृत गर्दा ‘उनी’ लेख्‍न थाले त ?अधिकांश मिडियाले ०६२/६३ को जनआन्दोलनपछि अप्रत्यक्ष रूपमा उद्धृत गर्दा आदरार्थी शब्द हटाउन थालेको देखिन्छ । तर त्यसअघि पनि यो चलन छँदै थिएन भन्ने होइन ।

साउथ एसिया फ्याक्ट चेकको अध्ययनअनुसार ०५६ सालअघिदेखि नै पत्रपत्रिकामा ‘उनी’ सम्बोधन प्रयोग भइरहेको थियो । हिमाल खबरपत्रिकाले१६ चैत ०५८ देखि राजनीतिज्ञहरूलाई ‘उनी’ भन्न थालेको थियो ।

०६२/६३ को आन्दोलनपछि ‘आदरार्थीको विभेद हटाउन’ समाचारमा सबैलाई एउटै सम्बोधन गर्न थालेको कान्तिपुर दैनिकमा दुईपटक प्रधानसम्पादक रहेका नारायण वाग्ले सम्झन्छन् । कान्तिपुरले ‘उहाँ’ छोडेर ‘उनी’ लेख्‍न थाल्दा वाग्ले यसका प्रधानसम्पादक थिए । “लोकतन्त्र भनेको न्याय र समानता हो भने किन मान्छेलाई फरक–फरक सम्बोधन गर्ने भनेर सुरु भएको हो,” वाग्ले भन्छन् ।

बीबीसी नेपालीले पनि यही समयताका अप्रत्यक्ष सम्बोधनका क्रममा ‘उहाँ’ भन्न छाडिसकेको थियो । लामो समय बीबीसी नेपालीमा प्रमुख रहेर हाल साझा पार्टीका संयोजक रहेका रवीन्द्र मिश्र ‘राजा, राष्ट्रपति, प्रमदेखि सामान्य नागरिकसम्म सबैलाई प्रत्यक्ष संवादमा ‘तपाईं’ र अप्रत्यक्ष उल्लेख गर्नुपर्दा ‘उनी’ प्रयोग गर्ने निर्णय गरेको सम्झन्छन् । “पत्रकारिताको दृष्टिकोणबाट त्यो उपयुक्त हो भन्ने हामीलाई लागेको हो,” मिश्र भन्छन् । ‘प्रधानमन्त्रीले बोल्नै नमिल्ने कुरा बोलेको’ भन्दै उनले प्रतिटिप्पणी गर्न रुचि देखाएनन् ।

अहिले पनि मिडियाले परिस्थिति हेरेर आदरार्थी शब्द प्रयोग गर्ने गरेका छन् । फरक–फरक मिडियामा मात्र होइन, एउटै मिडियामा पनि सम्बोधनमा एकरूपता छैन ।

ओली आपत्तिको अर्थ

पत्रकारिताका प्राध्यापक पी खरेल प्रधानमन्त्रीको आशय सही रहे पनि भन्ने ठाउँसही नभएको बताउँछन् । उनी प्रधानमन्त्रीलाई चित्त नबुझेको कुरा लिएर प्रेस काउन्सिल जान सुझाउँछन् । “(ओलीले) आफूलाई परेपछि चित्त दुखाउनुभएको हो । १३ वर्ष भइसक्यो, सञ्चारमाध्यमले तिमी भनेको । हामीलाई त बानी परिसक्यो,” खरेल भन्छन्, “तर उहाँ यो कुरा लिएर प्रेस काउन्सिल जानुपर्‍यो । उहाँ आफैँले नियुक्त गरेका प्रेस काउन्सिलका पदाधिकारीले सम्पादन गर्ने अखबारमा के लेखिन्छ पनि हेर्नुपर्‍यो ।”सबैलाई समान भनिएको समयमा ‘हजुर, तपाईं’ खोज्नु पुरातनवादी हुने उनको तर्क छ ।

समान हिसाबले सम्बोधन गरेको कतिपयलाई कहिल्यै मन नपरेको अनुभव सुनाउँछन्, हाल बाह्रखरी अनलाइनका कार्यकारी सम्पादक रहेका गोविन्द अधिकारी । ‘सबैलाई तिमी लेख्‍न थालेको समान सम्मानका लागि हो । आफूलाई ‘मोर इक्वेल’ ठान्नेहरूको चित्त उतिबेला पनि बुझेको थिएन’, ट्वीटरमा उनको टिप्पणी छ ।

पत्रकार ध्रुवहरि अधिकारीको बुझाइमा मिडियाले सबैलाई समानार्थी सम्बोधन गरेजस्तो देखिए पनि यो व्यावहारिक छैन । “तपाईं एकछिनअघि भन्नुहुन्छ– यस विषयमा तपाईंको धारणा के हो ? र, ऊसँगको कुरा सकिएपछि पाठकलाई भन्नुहुन्छ– उनी फलाना हुन्,” बीबीसी, रोयटर्ससहित अन्तर्राष्ट्रिय समाचार संस्थामा पत्रकारिताको अनुभव सँगालेका अधिकारी भन्छन्, “एकछिनअघि तपाईं र एकछिनपछि तिमी त झन् ढोङ भयो ।” हरेक भाषाको विशिष्ट पहिचान र मर्यादासूचक शब्द तथा शैली हुने तर्क गर्दै अधिकारी सजिलोका नाममा अरू भाषाको हुबहु नक्कललाई स्वाभाविक मान्न नसकिने बताउँछन् ।

प्रधानमन्त्री पटक–पटक किन मिडियाको भाषामा टिप्पणी गर्छन् ? वाग्लेको बुझाइमा प्रधानमन्त्री ओली आफ्नो सीमाभन्दा माथि गएर बोल्न रमाइलो मान्छन् । “संसद्‍मा दुई तिहाइ छ, मुलुकभरको माहोल ओलीकै पक्षमा छ । उनको आलोचना गर्ने पनि त्यो कि मिडिया हो कि विद्वत्वर्ग हो । तिनलाई त्रासमा राख्नुपर्छ भन्ने मनोविज्ञान ओलीको देखिन्छ,” उनी भन्छन् ।

समानता र न्यायका पक्षधरलाई गुनासो नहुनुपर्ने भन्दै सेतोपाटीका प्रधानसम्पादक अमित ढकाल प्रधानमन्त्रीको गुनासोप्रति व्यंग्य गर्छन् । ‘पत्रकारिताको भाषाले राजादेखि रंकसम्मलाई समान दर्जामा राख्छ । समानता र न्यायका पक्षधरलाई यसमा गुनासो नहुनुपर्ने हो,’ उनले ट्वीटरमा लेखेका छन् ।

वाम विश्लेषक नरेन्द्रजंग पिटरको बुझाइमा ओलीको अपेक्षा शासकहरू लोकतान्त्रिक हुन नसक्नुको परिणाम हो । “राजनीतिक रूपमा त सामन्तवाद अन्त्य भयो तर स्वभाव भने सामन्ती संस्कृतिबाट मुक्त हुन सकेन,” पिटर भन्छन्, “शासकहरूको आचार, विचार र आचरण सामन्त भएपछि भाषा पनि अभिजातवर्गीय अपेक्षा गर्नु स्वाभाविक हो ।”


प्रकाशित: कात्तिक १, २०७६ (नेपाल म्यागजिन)

Be the first to reply

Leave a Reply

Your email address will not be published. Required fields are marked *