आत्मश्‍लाघा

अधिक मानिस संसारको केन्द्र आफूलाई ठान्छन् र आफ्नो संस्कृतिलाई मानव इतिहासको मेरुदण्ड। धेरै ग्रिकहरू होमर, सोफोक्लिस र प्लेटोबाट इतिहास सुरु भएको विश्वास गर्छन् र सबैजसो महत्त्वपूर्ण विचार र आविष्कारहरू एथेन्स, स्पार्टा, अलेक्जेन्ड्रिया वा कन्सटान्टिनोपोलमा जन्मिएको ठान्छन्। चिनियाँ राष्ट्रवादीहरू के भन्छन् भने वास्तविक इतिहास ‘यल्लो इम्पेरर’ वा चिया र शाङ वंशबाट सुरु भएको हो। पश्चिमा, मुसलमान र भारतीयहरूले जे जति उपलब्धि हासिल गरेका छन्, त्यो वास्तविक चिनियाँ सफलताको भद्दा नक्कल मात्र हो।

यो चिनियाँ गौरवलाई हिन्दू मूलबासी अस्वीकार गर्छन् र तर्क गर्छन् कि विमान र आणविक बम पनि प्राचीन ऋषिमुनिहरूले कन्फ्युसियस र प्लेटोभन्दा धेरैअघि भारतीय उपमहाद्वीपमा आविष्कार गरेका हुन्। आइन्सटाइन र राइट दाजुभाइ त परै जाओस्। उदाहरणका लागि रकेट र विमान बनाउने व्यक्ति महर्षि भारद्वाज थिए, विश्वामित्रले मिसाइल बनाएनन् मात्र प्रयोग पनि गरे, आचार्य कणाद आणविक सिद्धान्तका पिता थिए र, महाभारतले आणविक हतियार के हो भन्ने प्रस्टसँग व्याख्या गर्छ भन्ने तपाईंलाई थाहा छ ?

धार्मिक मुसलमानहरू पैगम्बर मोहम्मदभन्दा अगाडिका सबै इतिहासलाई धेरै हदसम्म अप्रासंगिक मान्छन्। उनीहरू ठान्छन् कि कुरानको रहस्योद्घाटनपछिका सबै इतिहास मुसलमान उम्माह (समुदाय)को आसपासमै केन्द्रित छन्। टर्किस, इरानियन र एजिप्सियन राष्ट्रवादीहरू मुख्य अपवाद हुन्। उनीहरूको तर्क छ— मोहम्मदभन्दा अघि पनि उनीहरूको आफ्नो राष्ट्र मानवताका जति पनि राम्रा कुराहरू थिए, त्यसका मूल स्रोत थिए। उनीहरूको बुझाइमा कुरानको रहस्योद्घाटनपछि पनि इस्लामको पवित्रता जोगाउने र यसको महिमा फैलाउने काम मुख्यतः उनीहरूकै मानिसले गरेका हुन्।

यो भन्नु परोइन कि ब्रिटिस, फ्रेन्च, जर्मन, अमेरिकी, रसियन, जापानिज र अनगन्ती अन्य समूह पनि यसैगरी आश्वस्त छन् कि उनीहरूको राष्ट्रका भव्य उपलब्धिहरू हुँदैनथे भने मानवजाति बर्बरता र अनैतिक अज्ञानतामा बाँचिरहेको हुन्थ्यो। इतिहासमा कतिपय मान्छे यति परसम्म पुगेर कल्पना गरेका छन् कि उनीहरूका राजनीतिक संस्था र धार्मिक अभ्यास भौतिक विज्ञानको नियमका लागि अत्यावश्यक छन्। त्यसैले एज्टेक (मेक्सिकोको एक जातीय समूह) हरूको दृढ विश्वास के छ भने हरेक वर्ष दिइने बलिबिना सूर्य उदाउँदैन र सारा ब्रह्माण्ड नै विभाजित हुनेछ।

यी सबै दाबीहरू झुटा हुन्। यसले नश्लवादको संकेतका साथसाथै इतिहासप्रतिको जानाजान अनभिज्ञता दर्शाउँछ। आजका कुनै पनि धर्म र राष्ट्रहरूमध्ये कोही पनि अस्तित्वमा थिएनन् जब संसारमा मानिसको उपनिवेश सुरु भयो, बोटबिरुवा रोप्न थालियो, पशुपालनको सुरुआत भयो, प्रारम्भिक सहरहरूको निर्माण भयो र लेखन तथा मुद्राको आविष्कार भयो। नैतिकता, कला, आध्यात्मिकता र रचनात्मकता हाम्रो डीएनएमा अन्तर्निहित विश्वव्यापी मानवीय क्षमताहरू हुन्। तिनीहरूको उत्पत्ति अफ्रिकामा ढुंगे युगमा सुरु भएको थियो। त्यसैले चाहे त्यो यल्लो सम्राट्को कालखण्डको चीन होस् वा प्लेटोको पालाको ग्रिस होस्, वा मोहम्मदको बेलाको अरेबिया होस्, त्यसैलाई सबैभन्दा नजिकको समय र स्थान हो भन्नु आत्मश्लाघा मात्र हो।

व्यक्तिगत रूपमा म आफैं पनि यस्ता आत्मप्रशंसासँग परिचित छु किनभने यहुदीहरू जो मेरा आफ्ना मान्छे हुन्, उनीहरू पनि संसारमा सबैभन्दा महत्त्वपूर्ण चिज आफैं हौं भन्ने सोच्छन्। कुनै मानवीय आविष्कारको नाम लिनुस्, उनीहरूले तुरुन्तै त्यसको स्वामित्व दाबी गरिहाल्छन्। उनीहरूलाई नजिकबाट चिनेको हुनाले मलाई यो पनि थाहा छ कि उनीहरू यस्ता दाबीहरूप्रति पूर्ण रूपमा विश्वस्त छन्। म एक पटक इजरायलमा योग गुरुकहाँ गएको थिएँ। परिचयात्मक कक्षामा उहाँले निकै गम्भीरतापूर्वक व्याख्या गर्नुभयो कि योग अब्राहमले आविष्कार गरेका हुन् र योगका सबैजसो आधारभूत आसनहरू हिब्रु वर्णमालाका अक्षरको आकारबाट बनेका हुन्। अब्राहमले आफ्ना एक पुत्रलाई यी योगासन सिकाए। उनी भारत गएर भारतीयहरूलाई योग सिकाए। जब मैले केही प्रमाण मागेँ, गुरुले बाइबलको अंश उद्धृत गर्नुभयो : ‘र, अब्राहमले आफ्ना पुत्रलाई उपहारहरू दिनुभयो। र, आफू जीवित छँदा नै उनलाई पूर्व देशका लागि पूर्वतिर पठाउनुभयो (जेनेसिस २५:६)।’ ती उपहार के होलान् ? तपाईंलाई के लाग्छ ? हेर्नुस् त योगशुद्ध वास्तवमा यहुदीहरूले आविष्कार गरेका रहेछन्।

अब्राहमलाई योगका आविष्कारक ठान्नु त सामान्य कुरा भयो। मूलधारको यहुदी धर्मले निष्ठापूर्वक के मानेको छ भने यो सम्पूर्ण ब्रह्माण्डको अस्तित्व रक्षा यहुदी धर्मगुरुले आफ्नो पवित्र ग्रन्थ पढ्न सकेका कारण भएको हो। यहुदीहरूले यो अभ्यास गर्न छोडे भने यो ब्रह्माण्ड अन्त्य हुन्छ भन्ने उनीहरूको विश्वास छ। जेरुसेलम वा ब्रुकलिनमा रहेका यहुदी धर्म गुरुले हिब्रु बाइबलका बारेमा चर्चा गर्न छाडे भने चीन, भारत, अस्ट्रेलियामात्र होइन; टाढाटाढाका तारामण्डलको पनि विनाश हुनेछ। यो कट्टर यहुदीहरूको विश्वासको एक केन्द्रीय लेख हो र जोसुकैले यसमा सन्देह गर्छ, ऊ अज्ञानी मुर्ख मानिनेछ। निरपेक्ष यहुदीहरूले यो भव्य दाबीप्रति थोरै सन्देह त गर्लान् तर उनीहरूले पनि के विश्वास गर्छन् भने यहुदीहरू इतिहासका केन्द्रीय नायक हुन् र मानव नैतिकता, आध्यात्मिकता र अध्ययनको मूल स्रोत हुन्।

विदेशीलाई आलोचना गर्नुभन्दा आफ्नै मान्छेहरूलाई आलोचना गर्नु अलिक सभ्य हुने भएकाले यस्ता आत्मप्रशंसाका लागि गरिने कथनहरू कसरी हाँसउठ्दा हुन्छन् भनेर चित्रण गर्न म यहुदी धर्मकै उदाहरणहरू लिन्छु। र, आआफ्ना पुर्खाले हावा भरेको बेलुनमा परेको भ्वाङ टाल्ने जिम्मा विश्वभरका पाठकलाई छोड्छु।


हरारीको पुस्तक ‘ट्वेन्टी वन लेसन्स फर द ट्वेन्टी फस्ट सेन्चुरी’बाट। अन्नपूर्ण पोस्ट् फुर्सदका लागि अनुवाद : रविराज बराल

Be the first to reply

Leave a Reply

Your email address will not be published. Required fields are marked *