काँकडभिट्टामा सवालहरूको सम्मेलन

तिमी चिन्दैनौ कोही जो कोही किताबमा छैन रे

ऊ त्यही मान्छे हो बरै तिम्रो हिसाबमा छैन रे..

सीमावर्ती सहर काँकडभिट्टामा हरेक दुई वर्षमा हुँदै आएको कला साहित्य उत्सवको चौथो संस्करणमा यो गीत ‘कर्टेन रेजर’ थियो। कवि संगीत श्रोताले लेखेको र गायक अञ्जानबाबु, सौरभ एन्ड कम्पनीले गाएको यो गीतबाट उत्सवको पर्दा उठान भएको थियो। इतिहासका किताबमा लिपिबद्ध नगरिएका, सत्तासीनहरूको हिसाबमा नपरेकाहरूको कथा बोल्ने यो गीतलाई सन्दर्भ बनाएर राजनीतिशास्त्री हरि शर्माले लोकतन्त्रमा नागरिकका असन्तुष्टिको अर्थबारे अर्थपूर्ण व्याख्या गरे।

‘कि नोट स्पिकर’ शर्माकै भनाइमा सुदूरपूर्वी जिल्ला झापामा ‘केही असन्तुष्टहरू’ जम्मा भएका थिए। ‘रिडर्स झापा’ को निम्तोमा फागुन तेस्रो साता राजधानीदेखि एक हुल असन्तुष्टहरू स्थानीय ‘अराजक’ हरूसँग मिसिन सीमान्त सहर काँकडभिट्टा पुगेका थिए।

‘समाजमा कहिल्यै खुसी नहुने मान्छे पनि चाहिन्छ,’ शर्मा ‘लोकतन्त्र र आलोचनात्मक चेत’ शीर्षकको विद्वत् प्रवचनमा भन्दै थिए, ‘मलाई गर्व छ, किनकि असन्तुष्टिले मलाई कहीँ न कहीँ त पुर्‍याउँछ। असन्तुष्टिले प्रश्न जन्माउँछ र म हुनुको अर्थ मेरो प्रश्नमा छ।’ असन्तुष्टिलाई लोकतन्त्रको आधारभूत चरित्र ठान्छन् उनी। ‘प्रश्नसँगै असन्तुष्टि व्यवस्थापन गर्ने परम्परा पनि विकसित हुँदै जान्छ,’ विद्वान् शर्माको निष्कर्ष थियो, ‘त्यसले नै लोकतन्त्रलाई समृद्ध बनाउँदै लैजान्छ। आलोचनात्मक चेतको जन्म नै प्रश्नबाट हुन्छ।’

तीन दिवसीय कला साहित्य कयौं प्रश्नहरूमा केन्द्रित थियो। अभिव्यक्तिका विविध विधादेखि समृद्धि यात्राका संकटसम्म, राष्ट्रवाददेखि समाज विज्ञानका संकट र भूराजनीति÷कूटनीतिदेखि पुरुषका मुक्तिसम्मका गरमागरम बहस त्यहाँ भएका थिए।

लेखक युग पाठक, अधिकारकर्मी जेबी विश्वकर्मा र दार्जिलिङका नेपालीभाषी लेखक सुधीर क्षेत्री सम्मिलित ‘साहित्यमा दलन’ सहित पहिलो दिन पाँच सेसन चले। के नेपालमा समाज सुहाउँदो साहित्य लेखिएको छ ? ‘उर्गेनको घोडा’ र ‘मांगेना’ जस्ता चर्चित पुस्तकका लेखक पाठकको निष्कर्ष छ— ‘समाजमा चर्को भेदभाव छ तर पाठ्यपुस्तक र साहित्यमा सद्भावका कुराहरू लेखिएका छन्।’ विश्वकर्माको अनुभवमा साहित्यकारहरू पनि यति विभेदकारी छन् कि बढीमा उनीहरू दलितप्रति सहानुभूतिसम्म मात्र राख्छन्।

कवितावाचन लगत्तै सुरु भएको ‘समकालीन आख्यानमा वर्गचेत’ सेसनको बहसमा लेखकहरू सरस्वती प्रतीक्षा र पुण्यप्रसाद खरेलसँगै भारतीय लेखिका रेमिका थापा थिए। उत्पीडित समुदायको आवाज उठाउँदा सम्बन्धित समुदायबाट लेखकलाई ‘आउटसाइडर’ ठानिएको अनुभव प्रतीक्षासँग छ। वादी समुदायबारेको उपन्यास ‘नथिया’ का कारण कानुनी झमेलामा समेत फसेकी उनी भन्छिन्, ‘एक त लेखिएका विषयवस्तुलाई हेर्ने दृष्टिकोणमा अस्पष्टता छ अनि यी समुदायहरूमै पनि अन्तरविरोध छ।’ उत्पादनका साधनमा स्वामित्व र त्यसले निर्माण गर्ने समाजको वर्गीय संरचनाको व्याख्या गर्दै खरेलले निष्कर्ष निकाले— ‘लेखकहरूले पनि समाजको चित्रण गर्दा सचेत रूपमा कुनै न कुनै वर्गको सेवा गरिरहेकै हुन्छन्।’ रेमिकाले ब्रिटिस र आन्तरिक दुवै उपनिवेश झेलेको भारतीय नेपाली समाज बुझाउँदै भनिन्— ‘लेखक हुन् वा पाठक, हामीकहाँ सबै निम्नवर्गका छन्। हाम्रो सामाजिक, भौगोलिक, ऐतिहासिक यथार्थसँगै लेखकका अनुभव र अनुभूति हाम्रा साहित्यमा पाइन्छन्।

अघिल्लासँगै भाव मिल्दो अर्को सेसन ‘अभिव्यक्ति र बहिष्करण’ मा अनुसन्धाता अनुभव अजित, लेखक नयनराज पाण्डे र चित्रकार सुप्रिया मानन्धर आफ्ना कुरा सुनाउन तम्तयार थिए। सिनेमामा गहिरो अध्ययन गरेका अनुभवले दर्शकलाई पृष्ठभूमिसम्म लगे। पञ्चायतकालमा राजा महेन्द्रले कसरी आफ्नो शासनका सांस्कृतिक बिम्बलाई पुनरुत्पादन गर्ने तथा नेपाली समाज एकथरीको मात्रै हो भनेर देखाउने प्रोपगान्डाको साधनका रूपमा सिनेमालाई प्रयोग गरे भन्नेबाट नेपाली सिनेमाको थालनी भएको पृष्ठभूमिसहित उनले समकालीन सिनेमामा पनि त्यही प्रवृत्ति र पात्रहरूको पुनरावृत्ति भइरहेको सुनाए। ‘अहिले सिनेमा बनाउनेदेखि लिएर अभिनय गर्नेदेखि लिएर पात्रहरू फेरिएका छन्’, अनुभवको अध्ययन छ, ‘तर, अभिव्यक्ति र सौन्दर्यचेतनाको प्रवृत्तिमा परिवर्तन छैन।’ सुप्रसिद्ध आख्यानकार पाण्डेको बुझाइमा लेखकहरूले ‘पात्रलाई निरीह देखाएर आँसुको व्यापार गरिरहेका’ छन्। ‘हामीले उनीहरूलाई अभिव्यक्ति त दियौं तर बोल्न लगाएनौं,’ वन्दना ढकालले सहजीकरण गरेको सेसनमा पाण्डे भन्दै थिए, ‘हाम्रा आख्यानमा उनीहरू मुखर भएर बोल्न पाइरहेका छैनन्।

पात्रमाथि लेखक हाबी भएका छन्। लेखक नै बढी बोलिरहेका छौं, हाम्रा पात्रहरूले प्रश्न चाहिँ कम गरिरहेका छन्।’ कलेजमा मूर्तिकला पढाउने एक जना शिक्षकले सुप्रियालाई भनेछन्, ‘ढुंगा काठको काम गर्नुपर्छ, जोड लगाएर फुटाउनुपर्छ, महिलाको हातबाट हुँदैन।’ विद्यार्थी छँदाको यो विभेदपछि पेसागत रूपमा पनि भोग्नुपरेको उनको अनुभव छ। रङसँग खेल्ने सुप्रिया अभिव्यक्तिका अन्य विधाजस्तै कलाकारितामा पनि बहिष्करण देख्छिन्। ‘एकातिर रङसँग खेल्ने काम महिलाको हो जस्तो गर्ने तर अर्कोतिर राम्रो कला बनाउने पुरुषले हो भन्ने,’ उनले सुनाइन्, ‘भनाइ र गराइमा ठूलो विरोधाभास देख्छु।’

अर्काे सेसन थियो– ‘भूराजनीतिक चिन्तन’। पत्रकार वसन्त बस्नेतले सहजीकरण गरेको सेसनमा प्रा. महेन्द्र पी लामा र पत्रकार सुधीर शर्मा विमर्शिए। सन् १९५० को भारत—नेपाल शान्ति तथा मैत्री सन्धि पुनरावलोकनका लागि गठित नेपाल–भारत प्रबुद्ध व्यक्ति समूहमा भारततर्फका सदस्यसमेत रहेका प्रा. लामाले ‘नेपाललाई मनको बाघले खाएको’ तर्क गरे। नेपालमा बढिरहेको भनिएको चीन र भारतको प्रभावबाट नेपालले आफ्नो फाइदाबारे सोच्नु साटो अनेक शंका गरिरहेको उनको टिप्पणी थियो। भाषाको राजनीतिबारे उनको टिप्पणी अझ रोचक थियो। ‘१९५० को सन्धिले मधेसमा बस्ने भारतीय मूलका नेपालीलाई असर गर्‍यो कि गरेन म भन्न सक्दिनँ तर भारतमा बस्ने नेपालीभाषी गोर्खाहरूलाई निकै आघात पुग्यो,’ एक दर्शकको प्रश्नको जवाफ दिँदै उनले भने, ‘नेपालीजस्तो अनुहार र नेपालीभाषी देख्यो कि एकै डालोमा हालेर डाँडा कटाउनेसम्मको स्थिति आयो।’ सत्तासँग लडेर नेपाली भाषालाई भारतीय संविधानको अनुसूचीमा राख्न आफूहरू सफल भएको उनले सगौरव सुनाए। यता पत्रकार शर्मा भन्दै थिए— ‘चीन नेपालका लागि नयाँ विकल्प हो तर चीनकै नाममा नेपालले अन्य मित्रराष्ट्रलाई गुमाउनु हुँदैन।’

काँकडभिट्टाकै स्थानीय नाट्य समूह परिवर्तन थिएटरको प्रस्तुति उज्ज्वल प्रसाईं लिखित नाटक ‘बिटुलो आख्यान’ले उत्सवको पहिलो दिनको बिट मारेको थियो।

दोस्रो दिनको पहिलो सेसन ‘काव्यमा विद्रोह’ मा कवि अभय श्रेष्ठ भन्दै थिए— ‘कविता मेरो अभिव्यक्तिको माध्यम हो र विद्रोह मेरो स्वभाव। कवितामा म विद्रोह किन प्रकट गर्छु भने म एकात्मकता वा एकरूपताको विरोध गर्छु, विचारको जडताविरुद्ध प्रस्तुत हुन्छु। कुनै घटना वा विषयलाई फरक ढंगले हेर्न खोज्छु।’ नारीवादी अभियन्ता तथा कवि प्रणिका कोयूले सहजीकरण गरेको सेसनमा अर्का कवि विनोदविक्रम केसीको पनि फरक विचार थिएन। ‘मेरा निम्ति कविता हतियार हो। बन्दुक पनि हो, तरबार पनि हो’, उनी भन्दै थिए, ‘संसारका कुरूपता र अत्याचारविरुद्ध लड्न मैले चलाउने हतियार कविता हो।’ उता, समीक्षक गुरुङ सुशान्त विद्रोही कविता परिभाषित गर्दै थिए। ‘समाजको बनिबनाउ संरचनाविरुद्ध चेतना बढाउन लेखिएका कविता नै विद्रोही कविता हुन्’, उनी भन्दै थिए, ‘विद्रोही हुनु भनेको घटनाको वर्णन गर्नु मात्र होइन, त्यसमा प्रश्न सोध्नु र प्रतिवाद गर्नु विद्रोह हो।’

यसपछिका सेसनहरू लोकचित्रकला विमर्श, सांस्कृतिक राष्ट्रवाद, पर्यावरणको खबर र दलालीको दलदल पनि उत्तिकै जमे। दोस्रो दिनको अन्तिम सेसनमा राजनीतिक चिन्तक आहुतिको एकल प्रस्तुति थियो ‘सांस्कृतिक राष्ट्रवादको जग’ शीर्षकमा।

उत्सवको अन्तिम दिनको पहिलो सेसन थियो, ‘समृद्धिको संकट’। माक्र्सवादी विश्लेषक खगेन्द्र प्रसाईं र अर्थशास्त्री विश्व पौडेलका प्राविधिक पदावली र अर्थतन्त्रका बग्रेल्ती तथ्यांक प्रस्तुत गरेका थिए। प्रसाईं भन्दै थिए— समृद्धिलाई पुनःपरिभाषित गरिएन भने पुँजीवादले भनेको समृद्धि र समाजवादले परिकल्पना गरेको समृद्धि उस्तै हुन जान्छ।’ पुँजीवादी समृद्धिले समाजमा झन् असमानता बढाउने उनको तर्क थियो। ‘समस्या समृद्धिको आधारभूत परिभाषामा नभई काम गराइमा छ’, पौडेलको बुझाइ थियो, ‘स्रोतको बाँडफाड सही ढंगले भएन।’ संघीयतालाई पनि विकेन्द्रीकरणकै रूपमा बुझिएको, संघीय तथा स्थानीय सरकारमा अनुशासनको अभाव देखिएको र जवाफदेहिता हराएकोले समृद्धि सपना मात्रै हुने हो कि भन्ने उनको शंका थियो।

खोज पत्रकारिता केन्द्रका सम्पादक शिव गाउँले, अल जजिराकी सुविना  श्रेष्ठ र कविसमेत रहेका पत्रकार संगीत श्र्रोता ‘समाचार, झूटा समाचार र खरिद समाचार’ नाम दिइएको मिडिया विमर्शमा जुटेका थिए। विगतमा नेपाल पत्रकार महसंघको नेतृत्वसमेत सम्हालेका गाउँलेको बुझाइमा समाचारले सत्ता र शक्तिलाई प्रश्न गर्नुपर्ने भए पनि त्यसो हुन सकिरहेको छैन। ‘यदि समाचारलाई वस्तु मान्ने हो भने यसको अर्थ राजनीति हुन्छ, यो कुरा नलुकाइकन भन्न सक्नुपर्छ’, गाउँले भन्छन्, ‘मिडिया कसले चलाउँछन्, किन चलाउँछन्, दैनन्दिन समाचार उत्पादन प्रक्रिया नियाल्यो भने धेरै कुरा प्रष्ट हुन्छ।’ शक्ति र स्वार्थका लागि समाचारमा तथ्य तोडमोड गर्ने र आफ्नो हितमा प्रयोग गर्ने प्रवृत्तिले समाचारको विश्वसनीयता मात्र नभई लोकतन्त्र नै खतरामा पर्न सक्ने उनको बुझाइ छ।

पाठकको सशक्त हस्तक्षेप र खबरदारी आवश्यक रहेको गाउँलेले बताइरहँदा संगीत भन्दै थिए— ‘ठूला मिडियाको समाचार उत्पादनको निर्णायक तहमा एकै माइन्डसेटका मान्छे छन्, जसको कारण विषयवस्तु तथा प्रस्तुतिमा विविधीकरण देखिँदैन।’ सुविनाको तर्क थियो— ‘जसको बारेमा मिडिया लेख्दै लेख्दैन, उसलाई कहिल्यै समाचारको विषय नै बनाउँदैन। उसलाई के झूटो के सही, के मतलव ? ’ नेपाली मिडियाले महिला र निम्नवर्गका विषयलाई निकै कम प्रस्तुत गरेको उनको आरोप थियो। मिडिया विमर्श रमाइलै रहे पनि झूटा समाचार र बिकाउ समाचार कसरी फरक हुन्, के हुँदा समाचार झूटा हुन्छन् र के हुँदा बिकाउ हुन्छन्, नियतवश हुने र भूलवश हुने परिस्थिति के हुन्छ भन्नेमा ठोस छलफल भने उतिसारो हुन सकेन।

‘समाजविज्ञान र मानविकीको संकट’ नामक सेसन तथा खगेन्द्र संग्रौला र सीके लालको ‘सत्ता र अभिव्यक्ति स्वतन्त्रता’ विषयको प्रवचनपछि आइपुग्यो ‘पुरुष मुक्ति’ को पालो। ‘पुरुषको मुक्ति कसरी ? ’ नाम दिइएको सेसनमा वक्ता थिए चिन्तक आहुति, नारीवादी अभियन्ता प्रणिका कोयू र लेखक सीमा आभास। वक्ताहरूको पृष्ठभूमि, दृष्टिकोण र प्रस्तुतिको मौलिकता त छँदै थियो, विषयकै हिसाबले पनि यो नौलो थियो। आभासको तर्क थियो– ‘पुरुषहरू सबैभन्दा बढी त्रासमा छन्।’ उनी भन्दै थिइन्, ‘महिला भनेको उसका यावत् दैनन्दिन आधारभूत आवश्यकता पूर्ति गर्न सघाउने साधन ठान्छ पुरुष। तर महिलाले जिब्रो चलाउन हुन्न भन्ने ठान्छ। यो त्रासबाट मुक्त नगरेसम्म पुरुषलाई मुक्त गर्न सकिँदैन।’ मुक्तिको पहिलो चरणमा पुरुषहरूलाई चियादेखि भातसम्म पकाउन र भाँडा माझ्न, लुगा धुन सिकाउनुपर्ने बताउँदा दर्शकमा हाँसोको फोहोरा छुट्यो। ‘नत्र पुरुषहरू धरापमा हुनुहुन्छ’, दर्शक दीर्घामै रहेका पुरुषहरूलाई देखाएर उनी प्रश्न गर्दै थिइन्, ‘अब नयाँ पुस्ता हुर्किंदै छ। कानुनले पनि छोरीलाई सम्पत्तिको अधिकार दिएको छ।

ती छोरीहरू हुर्किँदै गएपछि भोलि ‘मेरो मोजा कहाँ छ’ भन्दा टेर्छ त्यो छोरीले ? ’ विवाह संस्था पनि धरापमा रहेको तर्क गर्दै उनले महिलाहरू मुक्तिको बाटोमा लागिसकेकोले पुरुषको मुक्ति पनि थाल्नुपर्ने सीमाले बताइरहँदा आहुति मुसुमुसु हाँसिरहेका थिए। आभासले महिला मुक्तिको बाटोमा हिँडिसकेको दाबी गरिरहँदा आहुति भने पितृसत्ताले झन्झन् नेपाली समाजलाई गाँज्दै लगेको बताउँदै थिए। ‘पितृसत्ताले पुरुषको पनि प्रगति रोकिएकोले समग्र मानवमुक्तिको दृष्टिबाट सोचेमा मात्र मुक्ति सम्भव हुन्छ,’ उनले भने।

उता, कोयूको कुरा थियो, ‘पुरुष स्वयंले यो सत्ताले मलाई पनि दास बनाएको छ, पीडा दिएको छ, मेरो पनि विकासलाई रोकेको छ भनेर जबसम्म बुझ्दैन वा स्वीकार गर्दैन, तबसम्म पुरुषलाई पनि मुक्तिको अर्थ छैन।’ यति भनेर उनले आफूलाई प्रगतिशील भन्ने पुरुषहरूमाथि धावा बोलिन्। आफूलाई प्रगतिशील भन्नेहरू मध्ये कतिपय ‘भेडाको आवरणमा ब्वाँसाहरू पनि रहेको’ अभिव्यक्तिमात्र दिइनन्, आवश्यक परे कुनै दिन नामै सार्वजनिक गर्ने बताइन्। ‘जसले महिला मुक्तिको कुरालाई खुल्लमखुल्ला व्यर्थ ठान्छन्, उनीहरूसँग त हामी लडौंला तर जसले तपाईंको साथी बनेर तपाईंकै पिठ्यूँमा छुरा रोप्छ, त्यस्ता पुरुषसँग सावधान रहनुपर्ने भएको छ’, उनले भनिन्।

जब दर्शकको पालो आयो, माइक समातेर कवि तथा पत्रकार राजु स्याङ्तान सोध्दै थिए— ‘पुरुषको मुक्ति कसरी हुन्छ, मैले केही बुझ्न सकिनँ।’ दर्शक दीर्घामा फेरि हाँसो गुञ्जियो।

यसपटक काँकडभिट्टामा भएको तीन दिने उत्सवमा खुब चर्चामा रह्यो, कवि अभय  श्रेष्ठको कविता ‘सन्देह’।

…तिम्रा सम्मानित गुरुले

मीठो भाषामा सुनाएका कथा

महान् इतिहासकारले लेखेको इतिहास

र, संसारका सर्वमान्य मूल्यहरूमाथि पनि सन्देह गर।

कला साहित्य उत्सवको चौथो संस्करणमा भएका थुप्रै बहसहरूको निक्र्योल करिब एउटै थियो। सन्देह गर्नु, सवाल गर्नु र आलोचनात्मक चेतलाई तिखार्नु आजको राजनीतिक तथा सामाजिक पर्यावरणमा अत्यन्त आवश्यक भएको यो उत्सवको सन्देश थियो। सन्देश मात्र होइन, यो उत्सवको प्रयत्न पनि यही थियो।

आयोजक रिडर्स झापाका अध्यक्ष उज्ज्वल प्रसाईंको मत छ, ‘नेपाली समाजले भोगिरहेका पेचिला विषयमा उठाउनुपर्ने जरुरी सवालहरूको सम्मेलन हो, यो कला साहित्य उत्सव। युवाहरूमा आलोचनात्मक चेतना जागृत गराउने सानो प्रयत्न हो, यो उत्सव। मलाई लाग्छ– हामी यसमा धेरथोर सफल भएका छौं।’

Be the first to reply

Leave a Reply

Your email address will not be published. Required fields are marked *