ओलीराजको अस्त्र आतंक

  • खगेन्द्र संग्रौला –

पशुपति शर्माको ‘लुट्न सके लुट्’ बोलको गीत झल्ला गीत हो। त्यसमा न कुनै वैचारिक गम्भीरता छ, न कलात्मक हिसाबले त्यो गतिलो छ। त्यस्तो झल्ला गीतमाथि त्यो स्तरमा प्रतिक्रिया हुनु भनेको डब्बल झल्लागिरी हो। ओली सरकारले त्यही गर्‍यो। सरकारका कुनै मन्त्रीले केहीभन्दा मलाई अन्यथा लाग्दैन। तर, प्रधानमन्त्री जब आफैं बोल्छन्, त्यो गम्भीर कुरा हो। प्रधानमन्त्रीले एक पटक पत्रकार र बुद्धिजीवीलाई इंगित गर्दै ‘विचार गरेर बोल्नुस् रेकर्ड रहन्छ’ भने। त्यो भन्या के ? ‘विरोध गर्नेलाई तह लाइन्छ’ भनेको हो ?

पशुपति शर्माले गीतमा जे–जे भने त्यस्तो त सम्भवतः हजारौं पटक भनिएको छ। विद्वान््हरूले, प्राज्ञहरूले आफ्ना शास्त्रीय लेखमा शब्द फरक पारे होलान् तर अभिप्राय हजार पटक भनिएको छ। पशुपति नै किन समातिए त ? छोरी कुटेर बुहारी तर्साउने शैली हो यो। ‘हामी यसो गर्न सक्छौं, हेर’ भनेको हो। पशुपति खासमा कायर हुन्। उनलाई तत्काल नाम चाहिने, दाम चाहिने, सेलिब्रिटी भइटोपल्नुपर्ने, सबैको हाइहाइ हुनुपर्ने तर साहस चाहिँ चुनदाम छैन। सहन केही नसक्ने रहेछन्। उनले गीत फिर्ता लिए तर उनले झिक्दा नझिक्दै अरू कयौंले सामाजिक सञ्जालमा राखिहाले।

शक्तिहीनको मुख थुन्ने प्रयास

केपी ओली नेतृत्वको सरकारको वर्ष दिन बित्यो। निर्वाचनमा जाँदा अथवा सरकार निर्माण प्रक्रियामा लोकका अगाडि ओलीले जे–जे वाचा गरेका थिए, वर्ष दिनमा केही पनि पूरा गर्न सकेनन्। पानीको फोकाजस्तो ठूलो लोकप्रिय व्यक्तित्व पनि स्खलित भयो। निषेधित क्षेत्र, डाक्टर केसी प्रकरण, निर्मला प्रकरण, वाइडबडी प्रकरण, पशुपति प्रकरण आदि–इत्यादि स्मरण गर्ने हो भने सरकारप्रतिको जनताको विश्वास छिन्नभिन्न भयो, ध्वस्त भयो। ध्वस्त केले गर्‍यो ? मूलतः सामाजिक सञ्जालले। छापा माध्यमको आफ्नो बृहत्तर भूमिका नभएको होइन। तर, तत्काल आवेग र उत्पात सिर्जना गरेको सामाजिक सञ्जालले हो। यी घटनाबाट ओली सरकारले आघात महसुस गर्‍यो। आतंकित भयो। त्यो आतंकको प्रतिक्रियाका रूपमा उसले सामाजिक सञ्जालमा अंकुश लगाउने कानुन प्रस्ताव गरेको छ।

सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा जेसुकै लेखिएको भए पनि सबाल के हो भने फैसला गर्छ कसले ? राष्ट्रियताको बारेमा, स्वाधीनताको बारेमा, स्वाभिमानको बारेमा, राष्ट्रिय सुरक्षाको बारेमा लेख्नु हुँदैन, सजग हुनुपर्छ भन्ने कुरा त सबैले मानेकै छन्। तर, कसैले सामाजिक सञ्जालमा वा अन्त कतै त्यस्तो लेख्यो भन्ने सरकारलाई लाग्यो भने फैसला गर्छ कसले ? सरकार आफैंले फैसला गर्ने भनेको के हो ?  आफूलाई मन नपरेको मानिसलाई दण्डित गर्ने हो। भिन्न मत राख्ने वा आलोचना गर्नेलाई दण्डित गर्ने हो। यो खतरनाक कुरा हो। यसको असर के हुन्छ भने अलिकति नाम वा प्रतिष्ठा भएकोलाई यसले धेरै असर पार्दैन।

किनभने, तिनको प्रतिष्ठा नै यस्तो शक्ति हुन्छ कि त्यसलाई सकेसम्म यो अरिंगाल सेनाले छुँदैन। छुने कसलाई हो ? पशुपति शर्मा जस्तालाई हो। आम मान्छे जसको व्यक्तित्वको शक्ति छैन, जसको वरिपरि जनशक्ति छैन, जोसँग सत्ता, बन्दुक र सम्पत्तिको शक्ति छैन। यी शक्तिहीन मान्छेको मुख थुन्न यस्तो कानुन पर्याप्त छ। दोस्रो कुरा, सामान्य मान्छेको मुख थुनिँदै जाँदा बोल्नेहरू कम हुन्छन्। बोल्ने कम भएपछि आवाज कमजोर हुन्छ। आवाज कमजोर भएपछि आफूलाई बलियो ठान्नेहरू पनि आफूलाई सेन्सर गर्न थाल्छन्।

बाहिर जस्तो देखिए पनि सरकारले प्रस्ताव गरेको कानुनको अन्तिम अभिप्राय लागेपुगेसम्म सामाजिक सञ्जाललाई बन्दै गर्ने हो। हामीकहाँ खुला विश्व भएकाले त्यसका बाध्यताहरू छन्, त्यो बेग्लै कुरा हो। अहिलेको सरकारको अभिप्राय सकेसम्म आलोचनाहरूलाई बन्दै गर्ने हो। त्यो झ्याउलो किन राख्ने ? निर्मला भन्यो, डाक्टर केसी भन्यो, अर्को पशुपति भन्ने आउँछ गीत गाउँदै र, साराले थपडी बजाउँछन्।

हामीले कोरिया देखेका छौं। चीनबारे अझ पनि हामीलाई धेरै कुरा थाहा छैन। हालै मैले डा.सन्दुक रुइतको जीवनी अनुवाद गरेँ। त्यो बडो चाखलाग्दो छ। सन्दुक रुइत उत्तर कोरियामा मोतियाबिन्दुको शल्यक्रिया गर्न गएका रहेछन्। अन्य देशमा अपरेसन गरेपछि जसको आँखा खुल्थ्यो, तिनले पहिला हर्षको आँसु बगाउँथे, भावविभोर भएर रुइतलाई अंकमाल गर्थे, रुन्थे, कतिपयले उनको पाउ छुन्थे। उत्तर कोरियामा रुइत बडो उदेकलाग्दो दृश्यसँग साक्षात्कार भए। अपरेसनपछि एकएक गरी उत्तर कोरियाली नागरिक कुदेर गए। कहाँ गएका हुन् भनेर उनी चकित भए। किम जुङ इलको विराट सालिकको पाउमा जम्मै लम्पसार परेर रोए। उनीहरूले सालिकप्रति कृतज्ञ हुँदै ‘तिमीले गर्दा हाम्रो आँखाको ज्योति फर्कियो’ भने। आम मान्छेको कान थुन्ने, आँखा बन्द गर्ने, बोली बन्द गर्ने अभ्यासको प्रारम्भ यहाँ पनि त्यस्तै गर्न खोज्नु हो। आम समाजमा मालिक र दास निर्माण गर्ने अभ्यास हो यो।

नेपालको भूराजनीतिक परिस्थिति र अहिलेको विश्व राजनीतिक परिस्थितिका कारण नेपालको खुला अवस्थाले शासकले चाहेअनुसार गर्न त सक्दैनन् तर गर्न सकेको खण्डमा मुख बन्देज गर्ने उद्देश्य हो। विश्व परिस्थितिले निर्माण गरेको मानसिकता र सामाजिक सञ्जालको प्रकृति हेर्दा यसलाई न नियन्त्रण गर्न सकिन्छ, न त व्यवस्थित नै गर्न सकिन्छ। यो एउटा यस्तो अप्ठ्यारो प्रविधि आएको छ कि, कठोर सैन्य शासनको बेग्लै कुरा भयो, यदि तपाईं लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रता भन्नुहुन्छ भने यो न नियन्त्रित हुन्छ, न व्यवस्थित हुन्छ। व्यवस्थित गर्ने सबैले आफूलाई हो। सरकारले आफूलाई व्यवस्थित गर्‍यो भने जनताको डर हुँदैन। सरकारले भ्रष्टाचार नगरोस्, शान्ति–सुरक्षा चुस्त–दुरुस्त राखोस्, विलासितामा प्रवृत्त नहोस्। त्यसपछि केको डर हुन्छ ? सरकार र नागरिकले आ–आफूलाई मर्यादित र व्यवस्थित बनाउने हो।

एक प्रतिशत सडकमा आए भने

पशुपति शर्माको एउटा गीतमाथि हस्तक्षेप गर्दा यस्तो बबाल भएपछि सामाजिक सञ्जाललाई नियन्त्रण गर्न खोजियो भने के हुन्छ ? यो पनि सरकारलाई थाहा हुनुपर्छ। धेरै अप्ठ्यारो हुन्छ। अप्ठ्यारो कसरी हुन्छ ? यसले नेपालका एक करोड मान्छेलाई असर गर्छ। ती एक करोडको एक प्रतिशत मात्रै सडकमा आए भने के हुन्छ ? निर्मला प्रकरणमा कति मान्छे सडकमा आए ? जब तपाईंको मुख थुनिन्छ, त्यो प्रयास तपाईंको ढोकामा आइपुग्छ अनि तपाईं चुप लागेर बस्नुहुन्न। ओलीराजको बुद्धिमानी के हुन्छ भने यो नगरोस्। ओलीराजले आफूलाई भ्रष्टाचारमुक्त बनाओस्, १८ करोडको मर्सिडिज र तीन करोडको हेलिकप्टर नचढोस्, आफ्ना आउरेबाउरे अरिंगालहरूलाई गरिब जनताले तिरेको करबाट पोस्ने काम नगरोस्। सरकार भ्रष्टाचारी र दुराचारी छउञ्जेल, कुशासन र असुरक्षा होउञ्जेल, विलासितालाई बेलगाम छुट दिइञ्जेलसम्म आलोचनाको शृंखला चलिरहन्छ।

लेख्दा के विचार गर्ने भन्ने कुरा बडा अप्ठ्यारो छ। सामाजिक मर्यादाका मानकहरूको निरूपण कसले गर्ने ? समाजका सभ्य, प्रबुद्ध, शिष्ट व्यक्तिहरूका नजरमा सामाजिक मर्यादाका मानक एकथरी हुन सक्छन्। राज्य चलाउने शासकका नजरमा सामाजिक मर्यादाका मानक फरक हुन सक्छन्। उनीहरू भन्छन्, म राजाजस्तै हुँ, मेराबारे टिप्पणी नगर्नू। सामान्य मान्छेले मर्यादाको हिसाब गर्दैन। सामान्य मान्छेले बेपर्बाह बोल्छ।

सामाजिक सञ्जाल वा इन्टरनेटलाई व्यवस्थित गर्ने भनेको समग्र समाजलाई व्यवस्थित गर्ने हो। सभ्य र शिष्ट बनाउने हो। समग्र सामाजलाई सभ्य र शिष्ट बनाउने कसले हो ? देश दुनियाँको नियति परिवर्तन गर्छौँ भन्ने राजनीतिक दल, सरकार, नागरिक समाज र प्रबुद्ध समुदायले गर्ने हो। त्यो भोलिको कुरा हो।

अमेरिकालाई समकालीन लोकतन्त्रको अगुवा मानिन्छ। राष्ट्रपति डोनाल्ड ट्रम्पको मनोवृत्ति विश्लेषण गर्दै ‘न्युयोर्क टाइम्स’ जस्तो अत्यन्त प्रतिष्ठित पत्रिकाका प्रबुद्ध स्तम्भकारहरूले उनलाई ‘पागल, सन्की, असन्तुलित र ठिस’ भनेर लेखे। ती कसैलाई कारबाही भएन। बेचैनी मात्र भयो सबैतिर। ट्रम्पका मानिसहरूले यस्तो त लेख्न नहुने भने। ट्रम्प पनि ट्विटरमा कति रिसाए ! आखिरमा उनले के गरे ? आफ्नो क्लिनिकल टेस्ट गराए, प्रमाणपत्र लिए र ट्विटरमा प्रमाणपत्रको फोटोसहित लेखे– ‘हेर, मलाई पागल भनेका थिए, तर म सद्दे ठहरिएँ।’ संसारको सर्वाधिक शक्तिशाली मुलुकको शक्तिशाली राष्ट्रपतिले त जनमतको अगाडि लाचार भएर विनम्र हुन्छ भने हाम्रा शासक चाहिँ राजा हुन खोज्ने ?

सरकार जनमतले बनाउँछ। जनमतले सांसद् र संसद् बनाउँछ। संसद्ले प्रधानमन्त्री बनाउँछ। प्रधानमन्त्रीअन्तर्गत मन्त्रिमण्डल बन्छ। यो शक्तिको स्रोत जनताको विवेक, नैतिकता, अपेक्षा र आकांक्षा हो। सरकार जनताप्रति उत्तरदायी हुने हो भने समस्या नै हुँदैन। जब तपाईंले असल गर्नुभएको छ भने कसैले चोर भन्यो भने किन डराउने ? चोर भन्दा त्यसले डराउनुपर्छ, जसले चोरेको छ। जसले चोरेको छैन, ऊ डराउँदैन, चुपचाप हेर्छ। चोर भनेर बात लगाउने थाक्छ तर नचोरेको मान्छेको निष्ठा निष्कलंक रहन्छ।

कसैले आलोचनात्मक कुरा गर्‍यो कि ठेगान लगाइहाल्ने सोच्नु भनेको सरकारको चरम हतासाको अभिव्यक्ति हो। निराशा र नैतिक पतनको अभिव्यक्ति हो। पशुपति शर्माको गीत सार्वजनिक भएपछि आफ्ना भक्त, शुभचिन्तक वा हनुमान लगाएर पनि त्यसमाथि सार्वजनिक बहस गर्न सकिन्थ्यो नि। गीत उचित हो कि होइन, गीतको अभिप्राय, यसमा प्रयोग भएका शब्द, ती शब्दद्वारा लक्षित पात्रहरू उचित हुन् कि होइनन् भनेर नैतिकता, कानुन र मर्यादाको आधारमा बृहत्तर छलफल गर्न सकिन्थ्यो। छलफलका आधारमा तपाईंले जनमतलाई आफ्नो पक्षमा प्रभावित गर्न वा मोड्न सक्नुहुन्थ्यो। समाधान त यसरी पो हुन्छ। सरकारले संवाद गर्ने हो। सरकारले पुलिसको भूमिका खेल्न थाल्यो भने यस्तो विधेयक आउँछ।

म त पागलै भइसक्थेँ

यसमा कुनै सन्देह छैन कि सामाजिक भनिने सञ्जालमा असामाजिकता व्यापक छ। यहाँ विचारै नगरी हठात प्रतिक्रिया हुन्छ। यो एउटा यस्तो अदृश्य माध्यम हो, तपाईंले शब्द फालिदिएपछि गगनमण्डलमा शब्द कहाँ गयो, तपाईंलाई अत्तोपत्तो हुँदैन। सामाजिक सञ्जाल विराट रहस्य हो। लेखेपछि कहाँ जान्छ, कहाँ बस्छ, भनेको बेला किन आउँछ, थाहै हुन्न। विराट रहस्यहरू नियन्त्रणभित्र हुँदैनन्। ती–ती कुरा नियन्त्रणभित्र हुन्छन्, जो मूर्त हुन्छन्। सामाजिक सञ्जाल अमूर्त छ।

कसैले केही भन्नेबित्तिकै यसरी हल्ला गर्ने हो भने म त पागल भएर मरिसक्नुपथ्र्यो। संविधान निर्माण भइरहेको बेला म मधेसीको पक्षमा थिएँ। एकातिर संविधान निर्माण भइरहेको थियो र अर्कातिर आफ्नै नागरिक मरिरहेका थिए। म मधेसी नागरिकको समान अधिकारको पक्षमा उभिएको थिएँ। संविधान निर्माणको बाहुबली प्रक्रियासँग मेरा आपत्ति थिए। कमसे कम मलाई सय जनाले भने होलान्, ‘लैनचौरको पैसा कति पटक आउँछ ?’ मधेसीहरूमाथि अन्धाधुन्ध बल प्रयोग गरेपछि धेरै मर्ने डर भएको हुनाले मधेसी आन्दोलनकारी नाकामा गए। नाका त हाम्राले बन्द गरेका हुन्। मोदी महाराज पछि धमिलो पानीमा माछा मार्न आइलागे।

मधेसका नागरिकको संवेदना, आकांक्षा र उनीहरूमाथि भएको उत्पीडनको पीडाप्रति सहानुभूति व्यक्त गर्न म मधेस गएँ। संयोगले आन्दोलनकारीहरू नाकामा गएका थिए। मेरो उछित्तो काटेर सामाजिक सञ्जालमा लेखियो, ‘पारि दरभंगामा गएर नेपालमा ढुंगा हान्ने ?’ सामान्य नागरिकले त यत्रो बेहोर्नुपर्छ भने, जसले राज्य चलाउँछ, जसको हातमा देशको पैसा, बन्दुक र कानुन छ, ऊ आलोचनाबाट डराउने ? राज्य चलाउनेलाई त दुनियाँले हेरिरहन्छन्। उनीहरूका हरेक कामकाज टिप्पणीका विषय बन्छन्, आलोचना र निन्दाका विषय हुन्छन्। तपाईं शासन पनि गर्ने अनि आलोचनाबाट डराउने ? हामीले यो ओलीराजलाई भन्नैपर्छ, ‘शासन नै गर्ने हो भने शासनमा दुराचार, भ्रष्टाचार र विलासिता हुन्छ। त्यसमाथि जनताले थुक्छ। त्यो सहने हो भने शासन गर, होइन भने वन पस।’

समष्टिगत रूपमा बोलौं

सरकारको आलोचना गर्नेलाई, फरक मत राख्नेलाई नकारात्मक मनोवृत्तिग्रसित भनेर आरोपित गर्न थालिएको छ। तपाईंले कुनै शिवबुटी खुवाएर सामाजिक मानसिकता सकारात्मक बन्ने र शिवबुटीको मात्रा कम हुँदै गएपछि नकारात्मक बन्ने होइन। प्रत्येक समाजको चिन्तनको एउटा ढाँचा हुन्छ। चिन्तनको प्रवृत्ति र गति अभिव्यक्त हुँदा नकारात्मकताको मात्रा बढी हुन सक्छ तर तपाईंले अपेक्षा गर्दैमा वा अर्ती दिँदैमा वा तपाईंले बन्दुक देखाउँदैमा त्यो सकारात्मकतामा रूपान्तरित हुँदैन।

तित्राको मुखै बैरी भनेजस्तो ओलीको दुर्भाग्य जिब्रो हो। एक त जुन पृष्ठभूमि वा परिवेशमा ओलीको भुइँफुट्टा व्यक्तित्व र लोकप्रियता बन्यो, कालान्तरमा त्यही नै अभिशाप बन्यो। संविधान निर्माण, मधेस आन्दोलन र नाकाबन्दीको पृष्ठभूमिमा ओलीको यस्तो छवि बन्यो, उनलाई लाग्यो– ‘म त राजा बनेँ।’ सायद उनले ठाने, ‘राजाको त हंशमा विष्णुको अंश मात्रै थियो, म चाहिँ राजा हुँदै देवता बनेँ।’ आमसञ्चारलगायत बृहत्तर समाजले एउटा उन्मादमा त्यसलाई मान्यो पनि। समय बित्दै गएपछि त्यो उन्मादको आकाश नांगिँदै गयो। वास्तविक ओली प्रकट हुँदै गए।

बोलेको र लेखेकै कुरा गर्ने हो भने ओली सरकारले दुःखी नेपालीलाई दिन बाँकी केही पनि छैन। व्यवहारमा दिएको के छ ? सामान्य कुराहरू हेरौं। निर्मलाका हत्यारालाई सरकारले लुकायो। हामीसँग मूर्त प्रमाण छैन। तर, जनतालाई कुनै कुरा भन्नका निम्ति मूर्त प्रमाण चाहिँदैन। पुलिसलाई वा न्यायाधीशलाई मूर्त प्रमाण चाहिएला। आम मान्छेले अनुमान, आशय र अड्कलको भरमा पनि भन्छ। नागरिकको रूपमा म के कुरामा विश्वस्त छु भने निर्मला पन्तका हत्यारालाई सरकारले लुकाएको छ। नत्र किन फेला पर्दैन ? हत्यारा चन्द्रलोकबाट आएको त होइन। माटोमुनिबाट आएको पनि होइन। सरकारका सुरक्षाका यतिबिघ्न संयन्त्रहरू पनि छन् तर किन पत्ता लागेन ?

सरकारको लोकप्रियता पूर्ण रूपमा ध्वस्त भएको छ। सरकार अलोकप्रिय छ भने तथाकथित सकारात्मकताको नाममा तिमी सुन्दर देखिन्छौ कसरी भन्न सकिन्छ ? तपाईंको अनुहार कलंकका दागहरूले भरिपूर्ण हुने अनि त्यसलाई सुन्दर देखाउन म सकारात्मक भइदिनुपर्ने ? म सक्दिनँ। जे छ त्यो नागरिकले देख्छ, जे देख्छ, त्यो टिप्छ र जे टिप्छ, त्यो भन्छ। सत्य कुरा त्यो हो। जसले आलोचनाका आवाजलाई नकारात्मक भनेर बात लगाइरहेका छन्, ती को हुन् ? सरकारी दानापानी खाएका मान्छेहरू हुन्। सामाजको सामान्य मानिसले तपाईंलाई नकारात्मक भनेको छैन। भन्दैन। धन्दावालहरूको त कामै त्यही हो।

नकारात्मकताकै कुरा गर्ने हो भने ओलीभन्दा ठूलो नकारात्मक व्यक्ति यो देशमा अर्को छैन। ज्ञानेन्द्रको निरंकुशतन्त्रको विरुद्धमा सडकमा निस्केपछि हामीले राजतन्त्रविरुद्ध नारा लगायौं। रत्नपार्कमा निरंकुशताविरुद्ध नारा लगाएका हामीमाथि अश्रुग्यास बर्सिरहेको बेलामा ओली के गर्दै थिए ? नवनिर्मित कैलाशकुट भवनको कुर्सीमा बसेर उनी के भन्दै थिए ? गणतन्त्रको सपना देख्ने भनेको गोरुगाढा चढेर अमेरिका जाने हो। यसको मतलब ओली गणतन्त्रप्रति नकारात्मक थिए। संघीयता, समावेशिता, धर्मनिरपेक्षता, आरक्षणप्रति सधैं नकारात्मक थिए। त्यसरी हेर्दा लोकतान्त्रिक मूल्यका समग्रताप्रति ओलीभन्दा बढी नकारात्मक कोही पनि छैन। सकारात्मकमा रूपान्तरित हुनैपर्छ भने पहिला ओलीले हुनुपर्छ। प्रदेशलाई किन अधिकार नदिएको ? प्रदेशलाई संघीय शासनको गोटीका रूपमा किन राखेको ? यो सकारात्मक कुरा हो ? हरेक मानिसको एक–एक टिप्पणीमाथि बकबकाउँदै हिँडेको को हो ? त्यो सकारात्मक कुरा हो ? समस्याको जड ओलीको मनोवृत्ति र ओलीको जिब्रोमा छ। त्यो मनोवृत्तिलाई सकारात्मक पाटोमा रूपान्तरित गरियो भने, बकबकलाई व्यवस्थित गरियो भने यी सबै कुरा व्यवस्थित हुन्छन्।

म आफूलाई सामाजिक आलोचक भन्छु, उपदेशक होइन। तपाईं सामाजिक अनुसन्धाता हुनुहुन्छ वा एनजीओकर्मी हुनुहुन्छ भने रिपोर्ट लेखिसकेपछि आखिरमा सुझाव–सल्लाह लेखिन्छ। मेरो काम त्यो होइन। म त आलोचक हो, क्रिटिक हो। समाज, परम्परा र शक्तिपीठहरूको आलोचक हुँ। मेरो काम अर्ती उपदेश वा सुझाव दिने होइन। जब तपाईंले आफ्नो चरित्र, प्रवृत्ति र अनुहारको बारेमा प्रतिपक्षको मत सुन्नुहुन्छ नि तब आफूलाई चिन्नुहुन्छ। ओली र उनको सरकारको दुर्भाग्य के हो भने अरूका आँखाबाट उनीहरूले आफूलाई कहिल्यै हेर्दैनन्। आफ्नै आँखाले मात्र आफूलाई हेरेपछि आफू त सधैं राम्रो देखिन्छ। ओलीको समस्या यही हो। मूलतः सत्ताको समस्या नै यही हो।

साधनस्रोत र शक्तिमा एकाधिकार भएको सत्ता यसरी अभिव्यक्ति स्वतन्त्राको विरुद्धमा लागेपछि नागरिकले सतर्क चाहिँ हुनुपर्छ। मुख थुन्न सक्दैन तर अप्ठ्यारो परिस्थिति चाहिँ आउन सक्छ। सतर्क हुने भनेको बोल्न नछोड्ने, लेख्न नछोड्ने हो। नागरिकको आधारभूत अभिव्यक्ति स्वतन्त्रताको पक्षमा, आलोचना गर्ने अधिकारको पक्षमा, स्वतन्त्रतापूर्वक घुमफिर गर्न पाउने अधिकारको पक्षमा, प्रकाशन गर्न पाउने अधिकारको पक्षमा हामी अहिलेदेखि नै समष्टिगत रूपमा बोलेनौं भने क्रमशः अधिकारहरू खण्डित हुन्छन्।

(रविराज बरालसँगको संवादमा आधारित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *